Wednesday, June 26, 2013

कार्यका आधारमा शब्दको वर्गीकरण



कार्यका आधारमा शब्दको वर्गीकरण
नामः दृष्य वा अदृष्य बस्तु, व्यक्ति वा कुनै चिजको संज्ञा दिने शब्दलाई नाम भनिन्छ । परम्पारगत नेपाली व्याकरण अनुसार नाम पाँच प्रकारका रहेको पाइन्छ ।
१.       व्यक्तिवाचक नामः कुनै एक वा विशेष व्यक्ति, वस्तु, ठाउँ, दिन, पर्व आदिको नाम बुझाउने शब्दलाई व्यक्तिवाचक नाम भनिन्छ; जस्तै - राम, सीता, काठमाण्डौँ, तिहार, सोमवार, ल्होसार आदि ।
२.       जातिवाचक नामः एक जातका एक वा अनेकलाई बुझाउने शब्दलाई जातिवाचक नाम भनिन्छ; जस्तै - आमा, चरा, गाई, बाघ, विद्यालय, नारी, परेवा, पर्व आदि ।
३.       द्रव्यवाचक नामः नापतौल गर्न सकिने तर गन्न नसकिने पदार्थलाई बुझाउने शब्दलाई द्रव्यबाचक नाम भनिन्छ; जस्तै - चामल, घिउ, सुन, हिरा, पित्तल, पानी, दूध, काठ, दाल, बरफ, माटो, हावा, हिउँ आदि ।
४.       समूहवाचक नामः कुनै व्यक्ति, वस्तु वा जातिको समूह बुझाउने शब्दलाई समूहवाचक नाम भनिन्छ; जस्तै - बथान, बिटो, जन्ती, सङ्घ, दल, झुप्पो, फौज, पल्टन, ताँती, वर्ग, डफ्फा, समूह आदि ।
५.       भाववाचक नामः देख्न, तौलन, देख्न, सुन्न, सुघ्न, छाम्न र चाख्न नसकिने तर मनले भने अनुभव वा महसुस गर्न सकिने चिज बुझाउने शब्दलाई भाववाचक नाम भनिन्छ; जस्तै - दया, माया, विश्वास, नोकरी, चाकरी, वेदना, व्यथा, सत्कार, सतित्व, शिष्टता, हिँडाइ, बोलाइ, लेखाइ, सम्यता, मातृत्व, भाग्य, विद्या, निद्रा, घृणा, कलह, मिठास, नम्रता, बुढ्याइँ, सौन्दर्य, लोभ, कठोरता, सजावट, पक्राउ, हरण आदि ।
साङखेय आधारमा नामलाई गणनीय र अगणनीय गरी विभाजन गर्न सकिन्छ ।
१.       गणनीय नामः गन्ती गर्न सकिने तथा बहुवचनमा रूप परिवर्तन हुने नामहरु गणनीय नाम हनः जस्तै - माछो, आमा, किताब, रूख, मान्छे, चरो, आदि ।
२.       अगणनीय नामः गन्ती गर्न नसकिने तथा बहुवचन रुप नहुने नामहरूलाई अगणनीय नाम भनिन्छः जस्तै - चामल, तेल, शिक्षा, मोटाइ, शूरता, वीरता, सुन, चाँदी, कपडा आदि ।
जिवत्वका आधारमा नामलाई सजीव र निर्जीव गरी वर्गीकरण गर्न सकिन्छ ।
१.       सजीव नामः स्त्री वा पुरुषको बोध गराउने नामलाई सजिव नाम भनिन्छः जस्तै - गाई, बिरालो, भाउजू, माइजु  हरि, सिंह, राम, कृष्ण, गीता, सीता आदि ।
२.       निर्जीव नामः स्त्री वा पुरुषको बोध नगराउने नामलाई निर्जीव नाम भनिन्छः जस्तै - नीलगिरी, काठ, रूख, पानी, तेल, सुन, चाँदी, शिक्षा, मोटाइ, माटो आदि ।
मानवीय र मानवेतर नामः
१.       मानवीय नामः मानव जातिलाई जनाउने नामलाई मानवीय नाम भनिन्छ । मानवीय नामको क्रियामा लिङ्गभेदक हुन्छः जस्तै - भाइ गयो / बहिनी गई, हरि बस्छ / ललिता बस्छे; मानवीय नामसँग आउने सङ्ख्यावाचक शब्दमा 'जना' लाग्दछः जस्तै - एकजना मान्छे आए, तीनजना वकिल आए, सातजना डाक्टर आए; मानवीय नाम कर्म छ भने त्यसमा 'लाई' लाग्दछः जस्तै - मैले उसलाई भेटेँ, सीताले गीतालाई देखी, हरिले कृष्णलाई बोलायो आदि ।
२.       मानवेत्तर नामः मानव जातिलाई जनाउने बाहेकका नामलाई मानवेत्तर नाम भनिन्छ । मानवेत्तर नामको क्रियामा लिङ्गभेदक हुदैनः जस्तै - राँगो आयो / भैसी आयो, गोरु बस्यो / गाई बस्यो; मानवेत्तर नामको सङ्ख्यावाचक शब्दमा 'वटा' लाग्दछः जस्तै - पाँचवटा गाई, दशवटा गोरु, पन्ध्रवटा बाख्रा; मानवेत्तर नाम कर्म छ भने त्यसमा 'लाई' लाग्दैनः जस्तै - मैले भैसी भेटेँ, उसले कुखुरा काट्यो, हरिले कुकुर बोलायो आदि
सर्वनामः नेपाली व्याकरणमा नामको सट्टामा आउने पदलाई सर्वनाम भनिन्छ भनि व्याख्या गरिएको पाइन्छ तर नाम पद, नाम पदावली वा नाममूलक वाक्यका सट्टामा पनि सर्वनामको प्रयोग भएको पाइन्छ, सर्वनामले मूलतः पुरुष बताउँदछः जस्तै - राम विद्यार्थीहो । ऊ मिहेनतसाथ पढ्छ; राम र श्याम बजार गए । उनीहरू घर फर्कर्का छैनन्; तिमी ज्यादै मूर्ख रहेछौ । यो सुनेर श्याम जङ्गियो आदि ।
सर्वनामको वर्गीकरणः
१.       पुरुषवाचक सर्वनामः
क.      प्रथम पुरुषवाचकः म, हामी ।
ख.     द्वितीय पुरुषवाचकः तँ, तिमी, तपाइँ, हजुर, तिमीहरु, तपाइँहरू, हजुरहरू ।
ग.      तृतीय पुरुषवाचकः यो, यिनी, तिनी,, उनी, उहाँ, यिनीहरू, तिनिहरू, उनीहरू, यी, ती, उहाँहरू ।
२.       निजवाचक सर्वनामः आफू, आफूहरू, आफैँ आदि
३.       निश्चयवाचक/दर्शक सर्वनामः
क.      समीपवर्तीः यो, यी, यिनी, यिनीहरू ।
ख.     दूरवर्तीः त्यो,, ती, उनी, उनीहरू, तिनिहरू ।
४.       प्रश्नवाचक सर्वनामः को, के, कुन आदि ।
५.       सम्बन्धवाचक सर्वनामः जो, जसले, जे, त्यो, जुन, जहाँ आदि
६.       अनिश्चयवाचक सर्वनामः कोही, कुनै, जेसुकै, केही आदि ।
विशेषणः नाम वा सर्वनामको विशेषता बोध गराउने शब्द नै विशेषण हो । यसे नाम वा विशेषणको गुण, दोष, आकार, प्रकार, परिमाण, मात्रा, तौलजस्ता विशेषता जनाउदछः जस्तै - पाँच, यति, छोटो, पूर्वी, माथिल्लो, पाल्पाली आदि ।
विशेषणको वर्गीकरणः
१.       गुणबोधक विशेषणः चुच्चे, भित्री, नयाँ, पुरानो, बहिरो, रातो, धमिलो, नौलो, मीठो, छोटो, दुब्लो, मिजासिलो, होचो, गुलियो, पिरो, धनी आदि ।
२.       परिमाणबोधक विशेषणः सबै, अलिकति, धेरै, आधा, यति, उति, जति, ज्यादा, आदि ।
३.       सङ्ख्याबोधक विशेषणः एक, दुई, तीन, पहिला, दोस्रा, तेस्रा, करोडौँ, दुईगुना, लाखौँ आदि ।
४.       सार्वनामिक विशेषणः यो, त्यो, कुन, के, जे, यस्तो, त्यस्तो आदि ।
५.       भेदक विशेषणः नाम, सर्वनाम वा अव्यय शब्दमा को/का/की/रो/रा/री/नो/ना/नी जस्ता षष्ठी विभक्ति लागेर बनेको विशेषणलाई भेदक विशेषण भनिन्छः जस्तै - रामको, अगाडिको, आजको आदि ।
क्रियाः कुनै कार्य, स्थिति, घटना र अवस्था जनाउने शब्दलाई क्रिया भनिन्छः जस्तै - गर्छ, उदायो, पढ्यो, बस्नेछ, हिँड्छ, लेख्छ आदि । क्रिया वाक्यगठनका निम्ति आधारभूत तत्व भएकाले क्रिया बिनाको वाक्यले अर्थ स्पष्ट पार्न सक्दैन ।
क्रियाको वर्गीकरणः
१.       समापकताको आधारमाः
क.      समापिका क्रियाः वाक्यलाई टुङ्ग्याउने क्रियालाई समापिका क्रिया भनिन्छ । यसले कार्यको पूर्णताको भाव प्रकट गर्दछः जस्तै - खायौँ, लेखेछ, मानेछ, गर्छु, सुक्यो, झिक्ला आदि ।
ख.     असमापिका क्रियाः असमापिका क्रियाले कार्यको पुर्णताको भाव प्रकट गर्दैन । यसको प्रयोगले वाक्यको पूरा अर्थ व्यक्त हुँदैन, वाक्य टुङ्गिदैन । यस्ता क्रियाहरू धातुमा निम्नलिखित कृत् प्रत्यय लागेर निर्माण भएको पाइन्छः जस्तै - नुः खानु/जानु/पढ्नु/मान्नु आदि; नेः देख्ने/लेख्ने/जान्ने आदि; एकोः सिकेको/जानेको/गरेको/लेखेको आदि; तो/दो/तै/दैः हुँदो/देख्ता/लेख्दा/भन्दै/गर्दै/देख्दै आदि; ई/एरः गई/लेखी/पढी/गरेर/भनेर आदि; नः देख्न/भन्न/गर्न/पढ्न आदि ।
२.       शब्द ग्रहणशीलताका आधारमाः
क.      सकर्मक क्रियाः कर्मको अपेक्षा गर्ने क्रियालाई सकर्मक क्रिया भनिन्छ । यस्ता क्रियाको कार्य कर्ताले गर्दछ र फलको असर कर्ताबाहेकको अन्य पद वा कर्ममा पर्दछ । सकर्मक क्रियालाई के र कसलाई भनेर प्रश्न गर्दा उत्तर आउदछः जस्तै - राम पाठ पढ्छ । गोठालो गाई चराउँछ ।
ख.     अकर्मक क्रियाः कर्मको अपेक्षा नगर्ने क्रियालाई अकर्मक क्रिया भनिन्छ । यस्ता क्रियाको कार्य र फलको असर दुबै कर्तामा पर्दछः जस्तै - राम हाँस्यो, हावा चल्यो, रूख ढल्छ, खेलाडी दौडिन्छ, हरि हिँडछ आदि ।
ग.      द्विकर्मक क्रियाः दुईवटा कर्मलिने क्रियालाई द्विकर्मक क्रिया भनिन्छः जस्तै - भाइले बहिनीलाई कलम दियो । रमेशले सालीलाई चिठ्ठी लेखेछ । दाजुले छोरीलाई मिठाई किने ।
घ.      पूरकापेक्षी क्रियाः सामान्यतया क्रियाले वाक्यको अर्थ पूरा गर्दछ तर कहिलेकाहीँ आवश्यक आधारभूत कुराहरू आएर पनि क्रिया स्वयम्‌ले अर्थ पूरा गर्न नसकी पूरकको अपेक्षा गर्दछ भने त्यस्तो क्रियालाई पूरकापेक्षी क्रिया भनिन्छः जस्तै - राम (ठूलो) भयो । राम (टोलीनेता) छानिन्छ । राम (चतुर) छ । सबैले रामलाई (नेता) छाने ।
अर्थ पूरा गर्न पूरकको अपेक्षा गर्ने छ, हो, छानिन्छ, हुन्छ, छानेजस्ता क्रियाहरू पूरकापेक्षी क्रिया हुन् ।
३.       संरचनाका आधारमाः
क.      सरल क्रियाः एउटा धातुबाट बनेका क्रियालाई सरल क्रिया भनिन्छः जस्तै - गर, गरेँ, जाओस्, गयौँ, किन्छु, हाँस्यो आदि ।
ख.     जटिल क्रियाः एकभन्दा बढी धातुबाट बनेका क्रियाहरूलाई जटिल क्रिया भनिन्छ । जटिल क्रिया दुई प्रकारका हुन्छन् ।
अ.      संयुक्त क्रियाः मुख्य क्रिया र सहायक 'हु' क्रिया मिलेर बनेको क्रियालाई संयुक्त क्रिया भनिन्छः जस्तै - आउँछ होला, हेर्दै छौ, पढ्दी हौ, पढेको छ आदि ।
आ.    मिलित क्रियाः मुख्य क्रिया र 'हु' बाहेकका अन्य सहायक क्रिया मिलेर बनेका क्रियालाई मिलित क्रिया भनिन्छः जस्तै - गरिरहेको छ, पढ्दै गरेको थिइन्, किनेकै थिई होली आदि ।
४.       संरचनाका आधारमाः
क.      मुख्य क्रियाः दुई वा सोभन्दा बढी क्रिया मिलेर बनेको वाक्यमा अर्थको प्रधानता हुने क्रियालाई मुख्य क्रिया भनिन्छ । यो प्रायजसो सहायक क्रियाभन्दा अघि आउँछ । नेपाली भाषामा धेरैजसो क्रिया मुख्य क्रिया हुन सक्छन् ।
ख.     सहायक क्रियाः मुख्य क्रियाको कार्यमा सहयोगी हुने क्रियालाई सहायक क्रिया भनिन्छ । नेपालीमा छ र हुँ धातुबाट बनेका क्रियाहरूका साथै दि, लि, जा, उठ्, गर्, बन्, बस्, सक्, रह्, पर्, हेर्, लाउ, पाउ, आँट्, लाग्, चाह्, थाल् आदि धातुबाट बनेका क्रियाहरूले पनि सहायक क्रियाको कार्यसमेत गर्दछन् । जस्तै - 'गर्दै छ' मा 'गर्दै' मुख्य क्रिया हो भने '' सहायक क्रिया हो । त्यस्तै 'भन्दै थिए' मा 'भन्दै' मुख्य क्रिया हो भने 'थिए' सहायक क्रिया हो । त्यस्तै 'लगाउँदै होली' मा 'लगाउँदै' मुख्य क्रिया हो भने 'होली' सहायक क्रिया हो ।
अव्ययः लिङ्ग, बचन र पुरुष आदि जस्ता व्याकरणात्मक एकाइका आधारमा नबदलिने अर्थात् सधै एकैनास रहेन शब्दलाई अब्यय भनिन्छः जस्तै - अगाडि, पछाडि, अनुसार, बमोजिम, चटक्क, धन्यवाद आदि । नेपाली व्याकरणमा अब्यय पाँच प्रकारका रहेको पाइन्छ ।
१.       नामयोगीः नाम, सर्वनाम र विशेषण वा नामिक पदसँग जोडिने बद्ध अब्यय पदलाई नामयोगी भनिन्छः जस्तै - सँगै, बिना, नेर, तिर आदि ।
२.       क्रियायोगीः क्रियापदसँग सम्बन्धित भई क्रियाको विशेषता बुझाउने अब्यय पदलाई क्रियायोगी भनिन्छः जस्तै - आज, भोलि, पर्सि, बिहान, अहिले, अस्ति, त्यहाँ, अगाडि, पूर्वपट्टि, अत्यन्त, अलिकति, बहुत, ज्यादै, राम्ररी, मस्तसँग, आदन्दले, फटाफट, सुटुक्क, प्वाक्क आदि ।
३.       संयोजकः शब्ब, उपवाक्य र वाक्यलाई जोड्न प्रयोग हुने शब्दलाई संयोजक भनिन्छ । नेपाली व्याकरणमा सापेक्ष र निरपेक्ष गरी दुई किसिमका संयोजकहरूको प्रयोग भएको पाइन्छ ।
क.      सापेक्ष संयोगकः एउटा मुख्य वाक्य र अर्को अधीन वाक्यलाई जोड्ने शब्दलाई सापेक्ष संयोजक भनिन्छः जस्तै - म आउँदिनँ भनी त्यो भन्दछ; भोलि छुट्टी छ भन्ने कुरा उसले भन्यो; मैले सुनेँ कि त्यो पढ्दैन; जान्छौ भने जाऊ; मा प्रयोग भएका क्रमशः भनी, भन्ने, कि, भने सापेक्ष संयोजक हुन् ।
ख.     निरपेक्ष संयोजकः एक अर्कामा स्वतन्त्र अस्तित्व बोकेका वाक्यहरूलाई जोड्ने संयोजकलाई निरपेक्ष संयोजक भनिन्छः जस्तै - गोपाल गए, गोविन्द पनि गए; मैले पाठ सुनाएँ, इनाम समेत पाएँ; तिमी जान्छ्यौ कि त्यो जान्छ?; मा क्रमशः पनि, समेत र कि निरपेक्ष संयोजक हुन् ।
४.       विस्मयादीबोधकः प्रायः वाक्यको अगाडि आई मानव मनका विभिन्न किसिमका मनोभाव (हर्ष, विस्मात, आश्चर्य, घृणा आदि) जनाउने शब्दहरूलाई विस्मयादिबोधक शब्द भनिन्छः जस्तै - ओहो, आम्मै, आहा, आत्था, धिक्कार,, स्यावास, ऐया आदि ।
५.       निपातः आफ्नै स्वतन्त्र अर्थ नभएका वाक्यको शुरु, मध्य वा अन्त्य कुनै पनि ठाउँमा आएर वाक्यलाई आकर्षक र मिठासपूर्ण बनाउने अब्यय पदलाई निपात भनिन्छ । वाक्यबाट निपाललाई झिकिदिँदा पनि वाक्यको अर्थमा कुनै पनि असर पर्दैनः जस्तै - छोराले त पैसा झिक्यो; भोलि मेरो घर आउन ल; कृष्णले त हो नि हामिलाई दुःख दिएको; होइन क्यारे, त्यस्तो पनि हुन्छ;  मा क्रमशः त,, त हो नि, क्यारे निपात हुन् ।

15 comments:

  1. 'Malai khana khana didaina'vanee vakyama k khana mukya kriya ra didaina lai sahayak kriya vanna milxaaa.ani 'na'lageko asamapika kriya sanga kasto samapika kriya rakhda uchit hunxa

    ReplyDelete
    Replies
    1. (उसले) मलाई खाना खान दिदैन। यस वाक्यमा खान क्रियायोगी (क्रियाविशेषण) हो र दिदैन क्रियापद हो।

      Delete
  2. what kind of shabda are the words like 'kal-kal' eg. kal kal pani bayo. fatafat, chirbir, etc?

    ReplyDelete
    Replies
    1. found the answer myself.. its Deshaj shabda
      thanks for these blogs,, very informative

      Delete
    2. अनुकरणात्मक शब्द हो।

      Delete
  3. मानिस स्वभावैले नै भ्रमणशील हुन्छ । भ्रमणशील कुन शब्दवर्ग हो?

    ReplyDelete
  4. तँ खाना खाँदै छेस्।
    यसको अकरण वाक्य के हुन्छ?

    ReplyDelete
  5. तिमी पढुन्जेल म खेल्छु।यहाँ @पढुन्जेल,कुन वर्गमा पर्यो?

    ReplyDelete
  6. सबैले माया गर्छन्। सबै के होला

    ReplyDelete